काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवद्र्धन गरि विशेष गन्तव्य बनाउनुपर्नेमा जोड दिइएको छ ।
सुनदहको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनदहलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताए । उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको उल्लेख गरे । सुनदहको डकुमेन्ट्रीको प्रस्तुति र छायांकनको प्रशंसा गर्दै उनले सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बताए । उनले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । साथै, रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरे । आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटकीष गन्तव्यको प्रबर्द्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्नेसमेत बताए । त्यसैगरी लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई ‘स्वर्गबाट चोइटिएर खसेको टुक्रा’को संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरिन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य रुपमा उल्लेख गरे । उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्नुपर्ने बताए । उनले भने, ‘हामीले देशभर रहेका नयाँ गन्तव्यहरुको खोजी गर्ने र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेछ ।’ पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष वमबहादुर बुढाले सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गरे । उनले भने, ‘सडक, पुल तथा अन्य आधारभूत संरचनाको विकासविना पर्यटनको दिगो प्रवर्द्धन सम्भव नहुने भएकोले पालिका र वडाको बजेटले पुग्दैन ।’ प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गर्न उनले माग गरे ।
कार्यक्रममा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । उनले पुथा उत्तरगंगा सांस्कृतिक रूपमा पनि समृद्ध रहेको उल्लेख गर्दै एकीकृत रूपमा पर्यटन विकास अगाडि बढाउनुपर्ने धारणा राखे । पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रमियर गरिएको २८ मिनेटको डकुमेन्ट्री प्रिमियर गरिएको थियो । समुद्री सतहबाट चार हजार चार सय ३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्व रहेको छ ।