काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिब ४८ लाख रुपैयाँबराबरको मेडिकल सामग्री तथा उपकरण सहयोग प्राप्त भएको छ ।
काठमाडौंस्थित निजी कम्पनी पेस्ट प्रो सोलुसन प्रालिले उक्त सहयोग उपलब्ध गराएको हो । सहयोगअन्तर्गत दैनिक उपचार सेवामा आवश्यक पर्ने विभिन्न मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू रहेका छन् । प्रतिष्ठानको मेडिकल स्टोर शाखामा सोमबार आयोजित कार्यक्रममा कम्पनीका प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए । प्रतिष्ठानमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएको र आर्थिक अभावका कारण आवश्यक स्वास्थ्य सामग्रीको कमी भइरहेको अवस्थामा प्राप्त सहयोगले सेवा प्रवाहमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ ।