काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले यही वैशाख २ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार नौ सय कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि चार करोड २९ लाख रुपैयाँ बराबरको चार लाख २९ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गरेको हो । कम्पनीले दुई लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र एक लाख ७१ हजार छ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार नौ सय कित्ता साधारण सेयर यही वैशाख दुई गतेबाट बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीका अनुसार लगानीकर्ताहरूले न्युनतम १० देखि अधिकतम ११ हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा वैशाख छ गते र ढिलोमा वैशाख १६ गते बन्द हुने छ ।