काठमाडौं,प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाएको छ। एमालेले उक्त पक्राउलाई संविधान विपरीत भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेको छ।
बैठक सुरु भएपछि एमाले सांसद गुरु बरालले विरोध जनाउँदै उठेका थिए। त्यसपछि सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिएका थिए। आफ्नो धारणा राख्दै बरालले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १८१ र १८२ को दुरुपयोग गर्दै ओली र लेखकलाई पक्राउ गरिएको आरोप लगाए।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उनले भने, ‘यो गम्भीर आपत्तिको विषय हो।’बरालले उक्त घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको दाबी गर्दै सरकारले दमनकारी शैली अपनाएको आरोप समेत लगाए। ‘यो विषयलाई लिएर देशभर विरोध भइरहेको छ। सरकारले निर्मम दमन गरिरहेको छ,’ उनले भने।
उनले संसदमार्फत नै सरकारसँग दुवै नेताको तत्काल रिहाइको माग गरेका छन्। ‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं,’ उनले जोड दिए। एमालेको यस विरोधपछि संसदको पहिलो बैठकमै राजनीतिक तनाव देखिएको छ। ओली र लेखकको पक्राउलाई लिएर सत्ता र प्रतिपक्षबीचको टकराव थप चर्किने संकेत देखिएको छ।