काठमाडौं । दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ । चैत्र २६ गतेदेखि वैशाख ६ गतेसम्म भक्तपुरको सल्लाघारीमा महोत्सव हुन लागेको हो ।
महोत्सवको मुख्य आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ राखिने भएको छ । महोत्सवका संयोजक दीपक थापाले महोत्सवमा ‘लन्डन ब्रिज’संगै बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिने जानकारी दिए । उनले नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजकको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको संयोजक थापाले बताए ।
महोत्सवमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने छ । त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यंग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना हुने आयोजकको भनाइ छ । महोत्सवमा करिब ५ करोडको व्यापार हुने र २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा एक सय ५० भन्दा बढी स्टलहरू रहनेछन् ।