हेटौँडा । हेटौँडामा माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । उनलाई मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नै फोटो टाँसी शुक्रबार बिहान परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
सिन्धुलीको मरिन गाउँपालिका–४ घर भएका १८ वर्षीय बिराज विक पक्राउ परेका हुन् । उनी हाल हेटौँडा उपमहानगरपालिका–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेका छन् ।
विकले हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरी निवासी १९ वर्षीय अङ्किश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको प्रहरी अनुसन्धानका क्रममा खुल्न आएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।