मकवानपुर , निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा संलग्नता देखिएपछि उनलाई चैत १७ गते राति नियन्त्रणमा लिएको हो। कटुवाल नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने तयारीमा थिए। उनको उम्मेदवारीलाई जिताउन मकवानपुरबाट व्यवसायीहरू काठमाडौँ पुगेका थिए। सीआइबीका अनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालय को अनलाइन बोलपत्र प्रणाली ह्याक गरी ठेक्का कब्जा गर्ने गिरोहबारे दुई महिनादेखि अनुसन्धान भइरहेको थियो। सोही क्रममा कटुवालको पनि संलग्नता खुलेको हो। अनुसन्धानबाट के खुलेको छ भने, बोलपत्रडटकमडटएनपीमार्फत सञ्चालन हुने प्रणालीमा अवैध पहुँच बनाएर अन्य प्रतिस्पर्धीले पेश गरेका प्रस्तावहरू पहिले नै हेर्ने, र अन्तिम समयमा केही मिनेटअघि मात्रै सबैभन्दा कम दरमा आफ्नो आर्थिक प्रस्ताव पेश गरी ठेक्का हात पार्ने गरिएको थियो। यसअघि पनि सीआइबीले यस्तै प्रकृतिका चार ठूला ठेक्का ह्याक प्रकरणमा केही निर्माण व्यवसायीलाई पक्राउ गरिसकेको छ। त्यसैगरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (KUKL) को करिब १० अर्ब रुपैयाँ बराबरको ठेक्कामा पनि अनियमितता भेटिएको थियो। उक्त प्रकरणमा आशिष निर्माण सेवा, सगुन निर्माण सेवा लगायतका कम्पनीहरू र डिभिजन सडक कार्यालय भक्तपुरसँग सम्बन्धित बोलपत्रमा रौताडा कन्स्ट्रक्सनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ। यसै क्रममा “कटुवाल निर्माण सेवा” मार्फत संलग्न रहेको आशंकामा सागर कटुवाललाई पनि अनुसन्धानमा तानिएको सीआइबीले जनाएको छ। प्रहरीले प्रकरणबारे थप अनुसन्धान जारी राखेको छ भने यसमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ।