काठमाडौं , न्याय परिषद् ले पाँच जना न्यायाधीशविरुद्ध परेका उजुरीमाथि विस्तृत अनुसन्धान अघि बढाउने निर्णय गरेको छ।शुक्रबार बसेको परिषद्को बैठकले कुल १५ उजुरीमध्ये १० उजुरी खारेज गर्दै बाँकी पाँच उजुरीमा विस्तृत छानबिन गर्ने निर्णय गरेको हो। परिषद्का एक सदस्यका अनुसार लामो समयदेखि अल्झिएका उजुरीहरूलाई प्राथमिकताका साथ अध्ययन गर्दै यस्तो निर्णय गरिएको हो।
प्रारम्भिक छानबिनका क्रममा गम्भीर प्रकृतिका देखिएका उजुरीहरूलाई मात्रै विस्तृत अनुसन्धानमा पठाइएको परिषद्ले जनाएको छ। अब आगामी बैठकमा ती उजुरीमाथि थप अध्ययन गरी आवश्यक ठहरेमा छानबिन समिति गठन गरिनेछ।परिषद्को संरचनाअनुसार प्रधानन्यायाधीश अध्यक्ष रहने र कानुनमन्त्री सदस्य रहने व्यवस्था छ। हाल परिषद्को अध्यक्षको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सम्हालिरहेकी छन्।
परिषद्मा सदस्यका रूपमा वरिष्ठ न्यायाधीश कुमार रेग्मी, कानुनमन्त्री सोविता गौतम तथा अन्य सदस्य दामोदर खड्का र महेशकुमार नेपाल रहेका छन्। जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको कार्यसम्पादनविरुद्ध परेका उजुरीमध्ये प्रारम्भिक रूपमा गम्भीर देखिएका मुद्दालाई मात्रै विस्तृत अनुसन्धानमा पठाइएको परिषद्ले जनाएको छ।