काठमाडौं । पोखराको फेलातालभित्र गृहमन्त्री सुधन गुरुङको पनि जग्गा फेला परेको छ । गृहमन्त्री गुरुङले केही वर्षअगाडि तालक्षेत्रको जग्गा खरिद गरेका थिए । अहिले उक्त जग्गा सरकारले विनामुआब्जा ताल क्षेत्रमा पार्ने निश्चित भएपछि उनी तनाबमा छन् ।
ताल क्षेत्रको जग्गा व्यक्तिको बनाउने काममा को–को लागेका थिए भन्ने यो घटनाले क्रमशः उजार गर्दै छ । ताल क्षेत्रमा पर्ने थाहा हुँदाहुँदै पनि गुरुङले उक्त जग्गा खरिद गरेका थिए । उक्त जग्गा कुन स्रोतबाट कमाएको पैसाबाट खरिद गरेको भनेर उनले सम्पत्ति विवरण सार्वजनिक गर्दा थाहा हुने अपेक्षा गरिएको छ ।
फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु
पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले शनिबार नेपाल प्रहरीसहितको सहयोगमा डोजर लगाएर सेदिदेखि खपौदीसम्मका मापदण्डविपरीत विभिन्न ३२ वटा टहरा भत्काएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।
महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्न मापदण्डविपरीत रहेका संरचना भत्काएको उनले बताए । यसअघि महानगरपालिकाले पहिलो चरणमा ६५ मिटर सीमा क्षेत्रमा पिल्लर गाडेको उनले जानकारी दिए ।
नवगठित संघीय सरकारले फेवातालमा भएको अतिक्रमण तीन महिनाभित्र हटाउन सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरेका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषय पनि उल्लेख छ ।