काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि नयाँ बजेट निर्माण प्रक्रियालाई तीव्रता दिएको छ । अर्थ मन्त्रालयले नयाँ बजेट निर्माणका लागि सहसचिव खत्रीको नेतृत्वमा बजेट लेखन समिति गठन गरेको हो ।
खत्री मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रहेका छन् । उनको संयोजकत्वमा बनेको समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्य छन् ।
समितिले आर्थिक वर्ष २०८३/०८४ को सरकारका वार्षिक नीति तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने, समितिले नयाँ आवमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा आव २०८३/०८४ को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने कार्यादेश पाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते नयाँ बजेट ल्याउनुपर्छ । चैत महिना सकिँदै गर्दा बजेट निर्माण प्रक्रिया निकै अघि बढिसकेको छ । यसअघि अर्थ मन्त्रालयले आव २०८३/०८४ को लागि बजेट मार्गदर्शन तयार गरी सबै मन्त्रालयहरूमा पठाइसकेको छ ।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बजेट मार्गदर्शनमा नयाँ बजेटका प्राथमिकता समेटिएको छ । यसअनुसार मन्त्रालयहरूले आयोजनामा बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्कापट्टामा जान सकिने आयोजना र प्रोजेक्ट बैंकहरूमा सूचीकृत भइसकेका आयोजनालाई मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ ।
अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरुसँग अहिले उनीहरुका आयोजना र प्राथमिकताबारे छलफल गर्ने कार्य गरिरहेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले नयाँ बजेटको सीमा १८ खर्ब ९० अर्ब रुपैयाँ निर्धारण गरी मन्त्रालयलाई सोहीअनुसार तयारी गर्न भनेको छ ।