काठमाडौं । नेपाल बैंक र इ—कमर्स अनलाइन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता भएको छ । बैक र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यही चैत्र २० गते देखि चैत्र २७ गते सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन् । नजिकिदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको हो । नेपाल बैंकमा खाता रहेका ग्राहकहरूले दराजमार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा सात सय ५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने छ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले उक्त कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्नेछ र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन । त्यसको लागि ग्राहकहरूले नेपाल बैंकको कुनै पनि शाखामार्फत इ—कमर्स सक्रिय गर्नुपर्ने छ । बैंकले ग्राहकहरूलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिनसमेत आग्रह गरेको छ ।