काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्रान्ड हायरले ‘क्षेत्रीय डिलर मिट’ आयोजना गरेको छ । कम्पनीले पूर्वमा रहेका आफ्ना डिलरहरुलाई समेटेर मोरङमा मिट आयोजना गरेको हो ।
कार्यक्रममा पूर्वका डिलर प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमले कम्पनी र डिलर नेटवर्कबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ । कार्यक्रममा डिलरका प्रतिनिधिहरुलाई हायरको नेपालमा वर्तमान बजार अवस्था, प्रतिस्पर्धात्मक स्थिति, सम्भावना तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी दिइएको थियो । हायर ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता नियोटेरिक नेपालका जनरल म्यानेजर भास्कर मुनानकर्मीले हायर ब्रान्डलाई नेपालमा स्थापित गर्न डिलरहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।
त्यसैगरी, कम्पनीका स्ट्राटेजिक बिजनेस हेड शैलेन्द्र झाले नेपालमा स्मार्ट होम तथा आधुनिक उपकरणहरूको बढ्दो मागलाई मध्यनजर गर्दै हायरले आफ्नो उपस्थिति अझ सशक्त बनाउने बताए । कार्यक्रममा कम्पनीका सर्भिस हेड शुभाष खड्काले ब्रान्डको दीर्घकालीन सफलताका लागि गुणस्तरीय सर्भिस अपरिहार्य रहेको उल्लेख गर्दै बिक्रीपछिको सेवालाई कम्पनीले विशेष ध्यान दिने उल्लेख गरे । कार्यक्रममा हायरका नवीनतम तथा लोकप्रिय उत्पादनहरूको विशेष प्रोडक्ट डिस्प्ले पनि गरिएको थियो, जसले डिलरहरूलाई उत्पादनबारे प्रत्यक्ष जानकारी लिन र अनुभव गर्न सहयोग पुर्याएको छ । साथै, डिलरहरूसँग अन्तरक्रिया, अनुभव आदानप्रदान तथा विभिन्न इन्गेजमेन्ट गतिविधिहरूले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने लक्की ड्रमार्फत सहभागीहरू विभिन्न उपहार समेत प्रदान गरिएको थियो ।