काबुल । अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको संख्या ६१ पुग्नुका साथै एक सय १६ घाइते भएको जनाइएको छ । वर्षाजन्य घटनाका कारण चार बेपत्ता भएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार घोषणा गरेका छन् ।
घटनाका काराण मृत्यु हुने अधिकांश मानिसहरु अफगानिस्तानको दक्षिणी र पश्चिमी प्रान्तका रहेको प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् । हालै भएको भारी वर्षापछि आएका प्राकृतिक प्रकोपले दुई हजार ४४८ घरहरु पूर्ण वा आंशिक रूपमा क्षति गरेको उल्लेख गर्दै अफगानिस्तानका विभिन्न प्रान्तमा कृषिवाली लगायत खेतीयोग्य जग्गा बगाएको उनले पुष्टि गरेका छन् ।
अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ भने विशेष गरी दुर्गम र कमजोर क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ । रासस/सिन्ह्वा