काठमाडौंं । बैंक तथा फाइनान्स कम्पनीहरूले अनुत्पादक क्षेत्रमा कर्जा बढाउँदै लगेको नियमनकारी निकाय नेपाल राष्ट्र बैंककै एक तथ्यांकलाई देखाएको छ । राष्ट्र बैंक स्वयम्ले उत्पादनमूलक क्षेत्रअन्तर्गत, कृषि, ऊर्जा, पर्यटनलगायतका क्षेत्रहरूमा कर्जा बढाउने रणनीति लिएको भए पनि पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरूको अनुत्पादक क्षेत्रअन्तर्गतको उपभोगको क्षेत्रमा कर्जा लगानी बढाएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा लघुवित्त वित्तीय संस्थाबाहेकका सबै किसिमका बैंक तथा फाइनान्स कम्पनीहरूले क्षेत्रगत कर्जाअन्तर्गत उपभोगको क्षेत्रमा मात्र कुल १२ खर्ब ७४ अर्ब ३७ करोड ४० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । उपभोगको क्षेत्रमा प्रवाह भएको यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई खर्ब ५९ करोड ७० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरूले उपभोगका क्षेत्रमा मात्र कुल १० खर्ब ७३ अर्ब ७७ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा वाणिज्य बैंकहरूले मात्र क्षेत्रगत कर्जाअन्तर्गतको उपभोग्य क्षेत्रमा कुल १० खर्ब ७६ अर्ब ७६ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले उपभोग्य क्षेत्रमा गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक खर्ब ८७ अर्ब १५ करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले उपभोग्य क्षेत्रअन्तर्गत कुल आठ खर्ब ८९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले पनि चालू आवको पछिल्लो सात महिनाको अवधिमा क्षेत्रगत कर्जाअन्तर्गतको उपभोगका क्षेत्रमा कुल एक खर्ब एक खर्ब ६४ अर्ब ३८ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १२ अर्ब ८८ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले उपभोगमा क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम एक खर्ब ५१ अर्ब ४९ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा फाइनान्स कम्पनीहरूले पनि उपभोगका क्षेत्रमा ३३ अर्ब २२ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ५५ करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले उपभोग्य क्षेत्रमा मात्र कुल ३२ अर्ब ६७ करोड २० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
यसैबीच बैंकिङ विज्ञ अनलराज भट्टराईले भने नेपाली बैंकिङ क्षेत्रमा उपभोग कर्जा बढ्नु सकारात्मक भएको बताएका छन् । उपभोगका क्षेत्रमा कर्जा बढेको विषयमा आर्थिक दैनिकसँगको कुराकानीको क्रममा उनले भने, ‘उपभोग कर्जाको क्षेत्रगत दायरा निकै फराकिलो रहेको छ, घर मर्मत, घरको रंगरोगन, शिक्षा, औषधि उपचार, टीभी, फ्रिज, वासिङ मेसिनलगायतका घरायसी उपकरणहरूको खरिद, भ्रमण, सवारी मर्मत आदि धेरै क्षेत्रमा लिइने कर्जा उपभोग कर्जा शीर्षकअन्तर्गत रहेको छ । विकसित राष्ट्रहरूमा बैंकिङ क्षेत्रको कुल कर्जा रकममध्ये ३५ देखि ४० प्रतिशतसम्म कर्जा यस्तो क्षेत्रमा प्रवाह भएको हुन्छ । हाम्रोजस्तो विकासोन्मुख र आयातमुखी अर्थतन्त्र भएको मुलुकको उपभोग्य कर्जा बढ्नु राम्रो हो, तर यसको लागि मुद्रास्फीति नियन्त्रण हुनुपर्छ, उपभोक्ताको हातमा पैसा हुनुपर्छ, उपभोक्ताले रोजगारी पाउनु पर्छ’, उनी भन्छन् ।