काठमाडौं । सेयर बजारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नपत्याएको देखिएको छ । अर्थमन्त्रीमा डा. वाग्ले नियुक्त भएपछि सुरु भएको लगातारको ओरालो यात्राले साताको पहिलो दिन आइतबार आफ्नो रौद्र रुप देखाएको छ । सेयरबजार परिसूचक नेप्से यस दिन एक सय पाँच दशमलव ५० अंकले ओरालो लागेर २६ सय ७६ दशमलव ६८ विन्दुमा खुम्चिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले ओरालो लागेर चार सय ५७ दशमलव ६१ विन्दुमा खुम्चिएको छ । यस दिन तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौ लाख १४ हजार पाँच सय ७० रुपैयाँ कायम भएको छ ।
यस दिन १३ वटा उपसमूहहरुको सेयर कारोबार भएका छन् । तीमध्ये सबै उपसमूहहरुको सूचक ओरालो लाग्दा सेयरबजार पूरै रातो भएको छ । यस दिन वाणिज्य बैंक उपसमूहको सूचक ४८ दशमलव ३६ अंकले ओरालो लागेर एक हजार चार सय छ दशमलव ४० विन्दुमा खुम्चिँदा विकास बैंक उपसमूहको सूचक पनि दुई सय ५९ दशमलव ५५ अंकले ओरालो लागेर पाँच हजार सात सय ३८ दशमलव १२ विन्दुमा खुम्चिएको छ । फाइनान्स उपसमूहको सूचक पनि ९६ दशमलव २१ अंकले ओरालो लागेर २३ सय ४५ दशमलव ३५ विन्दुमा खुम्चिँदा जलविद्युत् उपसमूहको सूचक पनि एक सय ८४ दशमलव ९९ अंकले ओरालो लागेर तीन हजार छ सय ३४ दशमलव ७४ विन्दुमा खुम्चिएको छ । जीवन बीमा उपसमूहको सूचक पनि चार सय ६३ दशमलव ७१ अंकले ओरालो लागेर १२ हजार चार सय २५ दशमलव ९८ विन्दुमा खुम्चिँदा निर्जीवन बीमा उपसमूहको सूचक पनि चार सय ३२ दशमलव ११ अंकले ओरालो लागेर १० हजार सात सय ४४ दशमलव ४४ विन्दुमा खुम्चिएको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सूचक पनि क्रमशः दुई सय २६ दशमलव ६६, तीन दशमलव ५२, एक सय ४३ दशमलव ७२, एक सय ६९ दशमलव ८६, शून्य दशमलव २२, एक सय ३२ दशमलव २२ र एक सय ४० दशमलव ४९ विन्दुले खुम्चिएका छन् ।
यस दिन रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भने यसदिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।