काठमाडौं । एक पटकको नेपाली सधैँको नेपाली भन्ने रास्वपाको मान्यताअनुरुप सरकारले बेलायतका एनआरएनएका पूर्वउपाध्यक्ष अर्थात् नेपाली मूलका विदेशी नागरिकलाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । सरकारले आफ्नो मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा यसअघि एनआरएनए बेलायतका पूर्वअध्यक्ष समेत रहेका डा. नारायणदत्त कँडेलाई नियुक्त गरेको हो ।
स्थायी घर बागलुङ भएका डा. कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमै विद्यावारिधि गरेका छन् । सुरुवाती चरणमा विसं २०४९ सालतिर काठमाडौंमा आएर केही समय पत्रकारिता समेत गरेका डा. कँडेलले केही समय वकालत पनि परेका थिए । पछिल्लो समय भने रास्वपाका सभापति रवि लामिछानेका कानुनी सल्लाहकार समेत रहेका कँडेललाई रास्वपाकै जोडबलमा महान्यायाधिवक्ता नियुक्त गरेको हो ।
नवनियुक्त महान्यायाधिवक्ता कँडेल २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति समेत बनेका थिए । यसअघिको सरकारले पनि थाइल्याण्डका एनआरएनए अध्यक्ष रमेश हमाललाई नेपाल धितोपत्र बोर्डमा अध्यक्ष बनाएको थियो ।