काठमाडौंं । गरिमा सुवर्ण योजनाको इकाइ बाँडफाँट कार्य सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक र व्यवस्थापनमा सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत प्रति इकाइ मूल्य १० रुपैयाँका दरले कुल १० करोड इकाइ रहेको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’को बाँडफाँट कार्य सम्पन्न भएको हो ।
योजनाको पहिलो चरणमा १० रुपैयाँ अंकित दरका पाँच करोड इकाइ यही फागुन २८ गतेदेखि चैत ११ गतेसम्म सार्वजनिक रुपमा निष्कासन तथा बिक्री खुला गरिएको थियो । उक्त निष्कासन अवधिभर बीज पुँजीसहित जम्मा एक लाख छ हजार सात सय ९४ आवेदकहरुबाट ७१ करोड ५७ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको सात करोड १५ लाख ७८ हजार ३ सय २० इकाइ खरिदको लागि अन्तिम आवेदन प्राप्त भई मागभन्दा बढी इकाइका लागि आवेदन प्राप्त भएको थिए ।
कम्पनीका अनुसार उल्लिखित आवेदनहरुमध्ये एक सय ७० जना आवेदकहरुबाट ४१ हजार इकाइ खरिदका लागि प्राप्त आवेदन रीतपूर्वक नदेखिएकाले बाँडफाँटमा समावेश नगरी एक लाख छ हजार छ सय २४ आवेदकहरुले रीतपूर्वक माग गरेको ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको सात करोड १५ लाख ३७ हजार तीन सय २० इकाइ (बीज पुँजीसहित) माग गरेबमोजिम नै यही चैत २२ गते आइतबार योजनाको निष्कासन तथा बिक्री प्रबन्धक यस गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा बाँडफाँट कार्य सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइहरु सार्वजनिक निष्कासन गर्न स्वीकृति प्राप्त भई यो योजनाको विवरण पत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाइ संख्या बीज पुँजीसहित एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ भएको हुँदा पहिलो चरणमा पाँच करोड इकाइमात्र खरिदको लागि दरखास्त आह्वान गरिएको भए पनि इकाइ खरिदका लागि रीतपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ मा भएको व्यवस्थाबमोजिम माग गरे बमोजिमकै इकाइ बाँडफाँट गरिएको कम्पनीको भनाइ छ ।
गरिमा सुवर्ण योजना खुलामुखी योजना रहेको हुँदा यस योजनाको इकाइ खरिद बिक्री नेपाल स्टक एक्सचेञ्जबाट गर्न नमिल्ने भएकाले बाँडफाँट भएको मितिले तीन महिना पश्चात् योजनाको इकाइ नियमित खरिद बिक्री गर्न मिल्ने गरी कारोबार सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ ।