काठमाडौंं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्य अन्तरक्रिया साथै कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
संस्थाका कोषाध्यक्ष सविना ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै सुरु भएको कार्यक्रममा कार्यक्रमका श्रोत व्यक्ति रमण भट्टराईले उपस्थित सदस्यहरुलाई सकारात्मक सोचको विकास गर्ने सीपको अभ्यास गराउनुको साथै सदस्यहरुको सकारात्मक योगदानले नै संस्थाले सकारात्मक उपलब्धी हासिल गर्न सक्ने र सकारात्कम विचारले नै सकारात्मक निर्णय हुन सक्ने भन्दै संस्थामा आबद्ध सबै पक्षलाई सकारात्मक सोचका साथ अघि बढ्को लागि अभिप्रेरित गरे । अन्तरक्रिया कार्यक्रममा उपस्थित सदस्यहरुले आ–आफ्नो राय प्रतिक्रिया व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष शिव प्रसाद सिटौलाले देशको समग्र व्यवस्थापन युवामय भइरहेको वर्तमान परिप्रेक्षमा सहकारी क्षेत्रमा समेत यूवा सहभागिता वृद्धि गर्नको लागि कदम चाल्नुपर्ने आवश्यकता रहेको र सहकारी दिवसको नारा सार्थक बनाउनमा समेत युवाहरुले भूमिका खेल्न सक्ने प्रचुर सम्भावना रहेको धारणा व्यक्त गरे । कार्यक्रममा संस्थाका महाप्रवन्धक हरि प्रसाद पाण्डेले संस्थाले सहकारी नियमन प्राधिकरणबाट इजाजत प्राप्त गरी कर्जा सूचना केन्द्रको समेत सदस्यता प्राप्त गरेको विषय सदस्यहरुलाई जानकारी गराउँदै सहकारी नियमन प्राधिकरणले निर्धारण गरेका बचतको मापदण्डको विषयको उठान गर्दै सदस्यहरुलाई नियमित बचतको महत्व, नियमित बचत गर्ने सदस्यहरुले संस्थाबाट प्राप्त गर्न सक्ने सुविधा र फाइदाको विषयमा सदस्यहरुलाई जानकारी गराए ।
सदस्य अन्तरक्रिया कार्यक्रमको समापनसंगै संस्थाले कर्मचारी उत्प्रेरणा कार्यक्रम गर्दै संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई कार्यबोझको व्यवस्थापन गर्दै प्रभावकारी कार्यसम्पादन गर्ने व्यवहारोपयोगी सीप सिकाइएको थियो । कार्यक्रम संस्था कर्मचारी नारायबाबु कँडेलले सञ्चालन गरेका थिए ।