काठमाडौं । नयाँ सरकार गठन भएयता अधिकांश कारोबार दिन घटेको सेयरबजारमा सोमबार उच्च अंकको बढावट देखिएको छ । अघिल्लो साता दुई दिन सामान्य अंकले बढे पनि बाँकी कारोबार दिन निरन्तर घटेको बजार यो साता पनि आइतबार एक सय पाँच दशमलव ५० अंकले घट्न पुगेको थियो ।
तर सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कारोबार समयअगावै ब्रोकरहरूसँग छलफल गरेसँगै बजारले यू–टर्न गरेको हो । उनले ब्रोकरहरूलाई व्यवसायीमाथि धरपकड नगर्ने बताउँदै देश ग्रे लिस्टमा रहेकाले सम्पत्ति शुद्धीकरणमा मात्र केही सम्बद्ध व्यक्ति अनुसन्धानमा तानिएकोले नआत्तिन आग्रह गरेका थिए । योसँगै बजार ८३.३३ अंकले बढेको हो ।
स्टक ब्रोकर एसोसियसनका प्रतिनिधिहरूलाई अर्थमन्त्री वाग्लेले बजार सुधारमा सरकारको जोड रहने भन्दै लगानीकर्तालाई उनीहरूमार्फत आश्वस्त पार्ने प्रयास गरे । त्यसपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो । सोही आधारमा सेयरबजार परिसूचक नेप्से ८३ दशमलव ३३ अंकले उकालो लागेर २७ सय ६० दशमलव दुई विन्दुमा चढेको छ ।
यस दिन तीन सय ४५ वटा सेयरहरू एक लाख २४ हजार ९३ पटक कारोबार हुँदा दुई करोड ५१ लाख ५५ हजार आठ सय ५४ कित्ता सेयर खरिदबिक्री भए । सोमबार १० अर्ब ९२ करोड ८५ लाख छ हजार आठ सय ६३ रुपैयाँको कुल किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस दिन सबै समूह बढेका छन् । यसअनुसार वाणिज्य बैंक ४४ दशमलव ७९, विकास बैंक दुई सय आठ दशमलव ३७, फाइनान्स ९४ दशमलव ६६, जलविद्युत् एक सय ६६ दशमलव ९१, जीवन बीमा तीन सय ३० दशमलव ६३, निर्जीवन बीमा तीन सय १६ दशमलव ८२ अंकले बढे । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सूचक पनि क्रमशः दुई सय ३३ दशमलव ९४, तीन दशमलव ४१, एक सय ६२ दशमलव ८६, एक सय १६ दशमलव शून्य छ, शून्य दशमलव ३०, ४८ दशमलव २५ र ९० दशमलव ८८ विन्दुले उकालो लागेका छन् ।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा लक्ष्मी बैंकको ऋणपत्र २०८८ ले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको यस दिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।