काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालको अटोमोबाइल उद्योग फस्टाउनका लागि आयातित कच्चा पदार्थहरूमा छुट गर्न माग गरेको छ ।
नाडाको प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटगरी आयातित कच्चा पदार्थहरूमा छुट दिन आग्रह गरेको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीले टायरट्युब व्याट्री, लुविकेन्टस र हेलमेट जस्ता विभिन्न अटोमोबाइल वस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसंग नभएकोले व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको बताए ।
सरकारले अटोमोबाइल वस्तुहरूको उत्पादनका लागि आवश्यक वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष उप्रेतीले नाडाकोतर्फबाट ३६ बुँदे लिखित राय सुझावहरूसमेत पेश गरेका थिए । उनले सरकारले अटोमोबाइल क्षेत्रलाई माथि उठाउन आवश्यक नयाँ नीति नियमहरू ल्याउनेमा आफूहरू आशावादी रहेको बताए । छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनन्ट उद्योगहरूको ठूलो सम्भावना रहेकोे बताए । नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरूको खाँचो औँल्याए । श्रेष्ठले भारतमा जीएसटी घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए । नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरूलाई प्रश्रय दिनु पर्नेमा जोड दिए ।
जवाफमा अर्थमन्त्री डा. वाग्लेले सरकारको ध्यान राजस्व संकलन वृद्धिमा रहेको बताए । राजस्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको उनको भनाइ थियो । राजस्वको दायरा विस्तार गर्न लागेको भन्दै उनले निजीक्षेत्र मैत्री नीति ल्याइने आश्वासन दिए । साथै, उनले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासंग पुनः छलफल गर्ने बताए ।