काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि एवं अभावका कारण निर्माण उद्योग संकटमा परेको जनाएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीहरूमा निरन्तर अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि भइरहेको महासंघले बताएको छ । महासंघका महासचिव शिवहरि घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दै बजारमा निर्माण सामग्रीहरूको अत्याधि मूल्यवृद्धिसँगै तिनको अभावले निर्माण उद्योग थप मर्कामा परेको उल्लेख गरेका छन् । ‘निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीहरूसहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको छ’ महासचिव घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैबीच महासंघको पूर्वाधार मैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसंग आग्रह गरेको छ । त्यस्तै प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका—२ तत्काल जारी गर्न नेपाल सरकारका सम्बन्धित निकाय समक्ष महासंघले माग गरेको छ । महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री सुनिल लम्सालले शीघ्र निर्देशिका जारी गरेर मूल्यवृद्धिको समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएको भन्दै महासंघले उक्त प्रतिबद्धता कार्र्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ । महासंघले सबै अवधिका ठेक्काको हकमा पनि मूल्य समायोजनको व्यवस्था गरिने मन्त्री लम्सालको प्रतिबद्धताको स्वागत गरेको छ ।
नविनियुक्त अध्यक्ष पाण्डेसहितका पदाधिकारी पद तथा गोपनियताको सपथसँगै कार्यभार ग्रहण
महासंघको हालै सम्पन्न २६औं साधारणसभा एवं १३औं अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूले पद तथा गोपनियताको सपथ लिँदै कार्यभार ग्रहण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता टंक प्रसाद दुलालले नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई सोमबार सपथ गराएका हुन् । महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायीहरूको वृद्धि विकासका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाए । विभागीय मन्त्रीसँगको छलफलमा आफूले निर्माण उद्योगमा विद्यमान समस्याहरूबारे जोडदार रुपमा ध्यानाकर्षण गराएको जानकारी गराउँदै उनले क्रमशः सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । सपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्ष रवि सिंह, निवर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) लगायतले निर्माण उद्योगको बृहत्तर हितका लागि आफूहरूको सदैव साथ सहयोग रहने बताएका थिए ।