काठमाडौं । राष्ट्रियसभाअन्तर्गत रहेका चार समिति सभापति निर्विरोध चयन भएका छन् । मंगलबार सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकले समिति सभापित चयन रहेको हो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । राष्ट्रिय सभामा सहभागी दलहरूबीचको सहमतिका आधारमा एक/एक उम्मेदवारको मात्रै प्रस्ताव पेश भएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । समिति सभापतिमा नेपाली काँग्रेसका २ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल का १/१ जना सांसद चयन भएका हुन् । पौडेल र रोकाय काँग्रेस सांसद हुन भने राई नेकपा र चौधरी जसपा नेपालकी सांसद हुन् । नेकपा एमालेले भने राष्ट्रिय सभाको उपाध्यक्ष पद पाएको थियो । एमालेको तर्फबाट लिला कुमारी भण्डारी उपाध्यक्ष भएकी छिन् ।
सभापतिका लागि प्रस्तावकहरुले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताएका थिए । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए । रिक्त रहेको समितिको सभापति चयन गर्नको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंगलबारको मिति तय गरेका थिए ।