काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ए सिरिजअन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजीको नेपालमा प्रि–अर्डर खुला गरेको छ ।
कम्पनीका अनुसार प्रि–अर्डर अप्रिल १८ सम्म जारी रहनेछ । कम्पनीका अनुसार नयाँ मोडेलहरू वन यूआई ८.५ मा आधारित छन् । साथै यसमा भ्वाइस रूपान्तरण, एआई चयन, वस्तु मेटाउने सुविधा, सम्पादन सुझावजस्ता कृत्रिम बुद्धिमत्तासम्बन्धी उपकरणहरू समावेश गरिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए५७ फाइभजीमा बेस्ट फेस र अटो ट्रिमजस्ता अतिरिक्त सुविधाहरू पनि उपलब्ध छन् । साथै, बहु–वस्तु पहिचान सहितको सर्कल टु सर्च, अपग्रेट गरिएको बिक्सबी र जेमिनी सहयोग समेत समावेश गरिएको छ । दुवै स्मार्टफोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित तीन तहको क्यामेरा संयोजन रहेको छ । साथै यसमा रात्री फोटोग्राफी सुविधा तथा सुधारिएको तस्बिर प्रशोधन प्रविधि राखिएको छ । कम्पनीका अनुसार कम प्रकाशमा पनि स्पष्ट फोटो तथा भिडियो खिच्न सकिन्छ ।
ग्यालेक्सी ए५७ फाइभजी ६.९ मिलिमिटर पातलो रहेको छ । दुवै मोडेलमा ५००० एमएएच ब्याट्री दिइएको छ, जसले दुई दिनसम्मको प्रयोग धान्ने दाबी गरिएको छ । आईपी६८ स्तरको पानी तथा धुलो प्रतिरोधी, ६ वर्षसम्मको सुरक्षा अपडेट, नक्स भल्ट, सुरक्षा ड्यासबोर्ड, निजी साझेदारी र चोरी सुरक्षा जस्ता सुविधाहरू समावेश गरिएको छ । ग्यालेक्सी ए५७ फाइभजी दुई भेरियन्टमा उपलब्ध छ । ८/२५६ जीबीको मूल्य ८४ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै ग्यालेक्सी ए३७ फाइभजी तीन भेरियन्टमा उपलब्ध रहेको छ । यसको ८/१२८ जीबीको मुल्य ६४ हजार ९९९ रुपैयाँ, ८/२५६ जीबीको ७२ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको ७९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
साथै यी स्मार्टफोन प्रि–अर्डर गर्दा विशेष अफर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । ए५७ फाइभजी (१२ जीबी) मा चार हजार रुपैयाँबराबरको मेमोरी अपग्रेट, ए३७ फाइभजीमा दुई हजार पाँच सय रुपैयाँबराबरको मेमोरी अपग्रेट रहेको छ । साथै कम्पनीले २४ महिनासम्मको किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ, जसअन्तर्गत न्यूनतम मासिक किस्ता एक हजार सात ६४ रुपैयाँबाट सुरु हुने जनाएको छ । किस्ताबन्दी प्रक्रियाका लागि नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।