काठमाडौँ, राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिले आज पदबहाली गरेका छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले आज सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शपथ ग्रहण गरेपछि आ–आफ्नो कार्यकक्षमा गई पदबहाली गरेका हुन।
पदबहालीपछि रासससँग प्रतिक्रिया दिनुहुँदै सुशासन समितिका सभापति पौडेलले दिगो, समन्यायिक र सन्तुलित विकासका लागि नीति, कानुन बनाउने काममा आफू सक्रिय हुने जानकारी गराए। भ्रष्टाचार न्यूनीकरण गरी सुशासनका लागि समितिको कार्य क्षेत्रअन्तर्गत रही काम गर्ने उनको भनाइ थियो । सेवा प्रवाह, सूचना प्रविधि र नवप्रवर्तन पनि समितिको कार्य क्षेत्र भएकाले यस क्षेत्रमा पनि समितिले काम गर्ने सभापति पौडेलले बताए ।
राष्ट्रिय सरोकार समितिका सभापति राईले विगतमा बनेका कार्ययोजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । विशेषगरी साइबर बुलिङका घटना बढिरहेकाले यस विषयमा पनि छलफल गराउने उनको भनाइ थियो । पछिल्लो समय निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने गरी सरकारका तर्फबाट भएको निर्णयका बारेमा पनि सरोकार भएका निकायलाई बोलाएर बहस गराउने सभापति राईले बताए ।रासस