काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको निक्षेप रकम छ दशमलव छ प्रतिशत अर्थात् चार खर्ब ८२ अर्ब एक करोड रुपैयाँले बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार दशमलव तीन प्रतिशत अर्थात् दुई खर्ब ७७ अर्ब २३ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ दशमलव एक प्रतिशतले बढेको छ । २०८२ फागुन मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव छ प्रतिशत, ४४ दशमलव एक प्रतिशत र ४० दशमलव एक प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव चार प्रतिशत, ३५ दशमलव चार प्रतिशत र ५१ दशमलव सात प्रतिशत रहेको थियो । २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४ दशमलव तीन प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव चार प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने चार दशमलव चार प्रतिशत अर्थात् दुई खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा छ प्रतिशत अर्थात् तीन खर्ब चार अर्ब ८२ करोड रुपैयाँले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव सात प्रतिशतले बढेको छ । चालू आवको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव दुई प्रतिशत र ३६ दशमलव आठ प्रतिशत रहेको थियो । चालू आवको फागुन मसान्तसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको चार दशमलव छ प्रतिशत, विकास बैंकहरूकोे तीन दशमलव पाँच प्रतिशत र फाइनान्स कम्पनीहरूको एक दशमलव नौ प्रतिशतले बढेको छ ।
२०८२ फागुन मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३ दशमलव आठ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४ दशमलव पाँच प्रतिशत र ६५ दशमलव दुई प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १० दशमलव पाँच प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा आठ दशमलव आठ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा सात दशमलव सात प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव आठ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा दुई प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा दुई दशमलव सात प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट अर्थात् आयात कर्जा २३ दशमलव दुई प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११ दशमलव एक प्रतिशत, हायर पर्चेज कर्जा आठ दशमलव छ प्रतिशत, माग तथा अन्य चालू पुँजी कर्जा तीन दशमलव नौ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) तीन दशमलव पाँच प्रतिशत, आवधिक कर्जा तीन दशमलव दुई प्रतिशत र क्यास क्रेडिट कर्र्जा एक दशमलव छ प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा भने दुई दशमलव सात प्रतिशतले घटेको छ ।