काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा शुक्रबार दिउँसो साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशसहित मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।
महाशाखाले वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।