काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री हुने भएको छ । संस्थाले संस्थापक सेयरधनी समूहका दुईजना सेयरधनीहरूको नाममा कायम रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
संस्थाले संस्थापक सेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार दुई सय ४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार दुई सय ९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाका कुनै संस्थापक सेयरधनीलाई उक्त सेयर खरिद गर्न इच्छा भएमा आगामी ३५ दिनभित्र आवश्यक कागजात र प्रमाणसहित निवेदन दिन सकिने छ । यस्तो निवेदन महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोक वा सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, कमलादी, काठमाडौंमा पेश गर्न सकिने छ ।
संस्थाका अनुसार निवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर कित्ता संख्या स्पष्ट रूपमा खुलाउनुपर्ने छ । बिक्रीमा राखिएको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता सात सय १५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि निवेदन दिने संस्थापक सेयरधनीले सात सय १५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने छ ।
तोकिएको ३५ दिने अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नआएमा प्रचलित कानुन तथा नियमानुसार उक्त सेयर संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जानकारी दिएको छ ।