काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरू रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो ।
सोही प्रकणमा ‘राहुल’ भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेव रावविरुद्ध मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । आयोगले उनीहरूविरुद्ध जनही सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ ।
उनीहरूविरुद्ध विमानस्थल कार्यालयका कर्मचारीहरूसँग साँठगाठ गरी निरन्तर सुन तस्करलाई सहयोग पुर्याई अरबौँ राजस्व चुहावट गरी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदन, भन्सार विभागका निर्देशकसमेतले पेस गरेको २०८० साउन २३ गतेको छानबिन प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान गरेको हो । प्रतिवेदनमा इलेक्ट्रिक सिगरेट (भेप)को एक्स–रे गर्ने, चेकजाँच गर्ने, जफत गर्ने, डिपोजिट गर्ने र कार्यालय प्रमुख समेतका कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गरेको नदेखिएको निष्कर्ष थियो ।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हाङसोङले ल्याएको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको सात सय ३० थान भेपभित्र सुन रहेको पुष्टि भएको थियो । यसअघि उनीहरूमध्ये केहीलाई अपराधिक विश्वासघात र भन्सार चोरी पैठारी कसुरमा सजाय गरेको, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । यो मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले त्यतिबेला उक्त सुनसहित भेप जफत गर्ने भन्दै राखे पनि पछि सट्टापट्टा गरेको खुलेको थियो । यसरी कर्मचारीले नै भेपको सुन गायब गरेको पुष्टि भएको छ ।
विमानस्थल भन्सारमा भेप रोकिएपछि चिनियाँ नागरिकसँग रकम लिएर छुटाउन महराका बाबुछोरा लागेको आरोप छ । विमानस्थलबाट जफत गरिएको भेप तोकिएको गोदाममा बन्द गरी सुरक्षित राख्नुपर्नेमा सो नगरी लामो समयसम्म प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठकै कार्यकक्षमा राखेको खुलेको थियो । अधिकृत श्रेष्ठले माघ २९ गते मात्र मुद्दा तथा लिलामी शाखामा पठाएका थिए। त्यहाँ कर्मचारीको मिलेमतोमा भेपबाट सुन निकालेको समेत खुलेको थियो ।
पुस १० गते बाट नै प्रतिनिधिसभाका पूर्वसभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुलले सुन तस्करसँग मिलेमतो गरी अस्वाभाविक चलखेल गरी भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललगायतलाई समेत प्रभावमा पारेको अख्तियारको आरोप छ ।
सुनसमेतका सामग्रीहरू गैरकानुनी तवरबाट भन्सार कार्यालयबाट लैजान पटक–पटक भेटघाट तथा फोन सम्पर्क गरेको तथ्य फेला परेको छ । तर कर्मचारीले उक्त भेपबाट सुन निकालेर लगिसकेको र कतिपय सामान नै साटेको पाइएको थियो । भन्सारकै लिलामी शाखाका नासु रेवन्त खड्का, व्यापारी दिनेश बस्नेतसमेतले व्यापारी वेदप्रकाश अग्रवाल समेतसँग मिलेमतोमा भेपको सुन विक्रि गरेका थिए । काठमाडौँको भद्रकालीमा पशुपति सुन चाँदी पसल सञ्चालन गरी बस्ने भारतीय नागरिक साहेवराव पाण्डुरङ मरगले र अन्य भारतीय नागरिकहरूलाई उक्त सुन बिक्रीवितरण गरेको पाइएको छ ।
सुन बेचेर आएको रकम प्रतिवादीहरू दिपिका थापा, प्रेरणा थापा, ललिता थापा, डेक्सटर ट्राभल्स एण्ड टूर कम्पनीको खातामा जम्मा गरेको अख्तियारको आरोप छ ।