काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले झण्डै १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार दुईजना संस्थापक सेयरधनीहरूको नाममा रहेको नौ लाख ९४ हजार एक सय ६४ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आह्वान गरेको छ ।
बैंकका अनुसार बिक्रीमा राखिएका सेयरमध्ये जगदीश कुमार अग्रवालको नाममा रहेको पाँच लाख ४४ हजार एक सय ६४ कित्ता र सुबोध कुमार केडियाको नाममा रहेको चार लाख ५० हजार कित्ता संस्थापक सेयर रहेका छन् । नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा हालकै संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था रहेकाले सोहीअनुसार बिक्रीमा राखिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कार्यालय समयमा काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्यासहित आवश्यक कागजात संलग्न गरी लिखित आवेदन दिनुपर्ने छ ।