काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विशेष लगानी कोष (एसआईएफ)को रूपमा दर्ता भएको र एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँको इक्विटी लगानी गरेको हो । गोर्खाज हिमालयन हाइड्रो लिमिटेड कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हो ।
आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ । आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता पीपीए गरिसकेको छ । उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेसनमा जोडिने छ ।
एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘यो लगानी हाम्रो पोर्टफोलियोमा एउटा महत्वपूर्ण उपलब्धि हो । यसले साना आकारका जलविद्युत् र स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई फेरि एकपटक प्रष्ट पारेको छ । यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठूलो टेवा पुर्याउने हाम्रो दृढ विश्वास छ ।’
‘माथिल्लो जुनबेसी खोला आयोजनाको यो निकै महत्वपूर्ण चरणमा एनआईबीएल इक्विटी पार्टनर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । यो साझेदारीले आयोजनाको निर्माण कार्यलाई अझै गति दिनेछ र यसलाई समयमै सम्पन्न गर्न मद्दत पुर्याउने छ ।’ गोर्खाज हिमालयन हाइड्रोका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले भने, ‘हाम्रो यो सहकार्यले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति बढाउनुका साथै दिगो र स्वच्छ ऊर्जातर्फको नेपालको दीर्घकालीन सोचलाई साकार पार्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
एनआईबीएल इक्विटी पार्टनर्सको बारेमा
एनआईबीएल इक्विटी पार्टनर्स, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईएमबीएस क्यापिटलको प्राइभेट इक्विटी पहल हो । एनआईएमबीएस क्यापिटल देशकै ठूलो र सक्रिय बैंकिङ एवं पुँजी बजार संस्थाहरूमध्ये एक मानिन्छ ।
यस कोषको लगानी गर्ने शैलीमा दुई प्रतिष्ठित संस्थाहरूको अनुभव र नवीन सोचको फ्युजन (मिश्रण) देखिन्छ। एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका उच्च सम्भावना बोकेका र द्रुत गतिमा विस्तार भइरहेका कम्पनीहरूलाई पुँजी उपलब्ध गराउँदै आएको छ । यसले कम्पनीहरूलाई व्यावसायिक कुशलता, दिगो मूल्य अभिवृद्धि र एक–अर्कामा सहयोगी हुने व्यावसायिक वातावरण (इकोसिस्टम) निर्माण गर्नसमेत मार्गदर्शन गर्दछ ।
गोर्खाज हिमालयन हाइड्रो लिमिटेडको बारेमा
गोर्खाज हिमालयन हाइड्रो लिमिटेड सोलुखुम्बुमा निर्माणाधीन ’माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजना’ को विकासकर्ता कम्पनी हो । यस कम्पनीको नेतृत्व जलविद्युत् क्षेत्रका अनुभवी प्राविधिक विज्ञहरूले गरिरहेका छन्, जोसँग जलविद्युत् आयोजनाको निर्माण र परामर्श सेवामा लामो अनुभव रहेको छ ।