नयाँ दिल्ली ।
भारतको केन्द्र सरकारले विहारमा रेल पूर्वाधार सुधारको लागि शुक्रबार महत्वपूर्ण घोषणा गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विहारलाई शुक्रबार पाँचवटा नयाँ रेल उपहार दिने घोषणा गर्ने नवभारत टाइम्सले जनाएको छ । यसबाहेक भिडियो कन्फ्रेन्सबाट मोदीले कोशी रेल मेगा ब्रिजको पनि उद्घाटन गर्नेछन् ।
कोशी पुलको योजना ९० वर्ष पुरानो भएको बताइएको छ । विहारमा चाँडै चुनाव हुनसक्नेछ । यस्तो अवस्थामा आफ्नो पार्टीप्रति मोदीले आकर्षित गर्ने प्रयास गरिरहेका छन् । पाँचवटा नयाँ रेलबाहेक यात्रुरेलसँग सम्बन्धित १२ रेल परियोजना पनि सुरु गर्नसक्नेछन् । यसले विहारका लाखौँ मानिसलाई फाइदा हुनेछ । यो पुल दुई किमि लामो रहेको बताइएको छ । यसको निर्माणमा ५ अर्ब १६ करोड भारु खर्च भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।