काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच सहकार्य विस्तार गर्ने सहमति भएको छ ।
संघ र कोषबीच विहीवार भएको उच्चस्तरीय बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले दुवै पक्षबीच नयाँ समझदारी पत्र तयार गर्ने र सहकार्य विस्तार गर्ने निर्णय गरेको छ । बैठकले शतप्रतिशत एसएसएफ योगदान लागू गर्न नयाँ एमओयु तयार गर्ने, कागजातविहीन श्रमिकका लागि स्व–योगदानको व्यवस्था गर्ने, एसएसएफ भत्ताका लागि माग पत्र जारी गर्ने, मध्यपूर्व र पूर्वी युरोपमा एसएसएफ कभरेज विस्तार गर्ने, विदेशी रोजगारी दर्ता नवीकरण प्रभावकारी बनाउने, रोजगारदातासँग प्रत्यक्ष सम्झौता गर्ने, राष्ट्रिय परिचयपत्र (एनआईडी) एसएसएफ प्रणालीमा एकीकरण गर्ने, डी.बी. क्षेत्रीलाई केन्द्रीय फोकल प्वाइन्ट र समन्वयकर्ताको जिम्मेवारी दिनेलगायतका निर्णय गरेको हो ।
बैठकमा हाल एसएसएफमा २२ लाख नेपाली श्रमिक दर्ता भए पनि निरन्तर योगदान सीमित रहेको र धेरै श्रमिकले योगदान कायम गर्न नसकेको विषयमा गम्भीर छलफल भएको थियो । सहभागीहरूले प्रवासी श्रमिकहरूमा एसएसएफका फाइदाबारे व्यापक जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । बैठकले मध्यपूर्वमा रोडशो कार्यक्रम सञ्चालन गर्ने, नीति निर्माणमा सहकार्य गर्ने, श्रम अनुगमन प्रणाली मजबुत बनाउने र एनआरएनएका सदस्य विवरण साझेदारी गर्ने निर्णयसमेत गरेको छ । बैठकले यसैगरी एसएसएफ सुविधालाई युरोपेली संघ (ईयू) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सन्दर्भमा हस्तान्तरणयोग्य बनाउने, गन्तव्य देशमा एसएसएफ सम्झौता गर्ने, र द्विपक्षीय श्रम सम्झौतामा समावेश गर्ने नीतिगत प्रस्ताव पनि अघि सारेको छ । साथै, बैठकले दूतावाससम्बन्धी समस्या, विदेशमा अध्ययनरत विद्यार्थीहरूको सामाजिक सुरक्षा, म्यानपावर एजेन्सी सञ्चालन, भर्चुअल अभिमुखीकरण कार्यक्रम, विदेशी रोजगारी भुक्तानी संयन्त्र, र बैंकमार्फत नेपालमा एसएसएफ रकम स्थानान्तरण जस्ता व्यवहारिक मुद्दाहरू पनि छलफल गरेको छ ।
बैठकमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र उपकार्यकारी निर्देशक कृष्ण अधिकारी उपस्थित थिए । एनआरएनएतर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, महासचिव डा. चिरञ्जीवी खड्कालगायतका प्रतिनिधिहरू सहभागी थिए ।