काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । सरकारले हप्तामा दुई दिन अर्थात शनिवार र आईतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएकै कारण साताको छैठौं दिन अर्थात शुक्रबार पनि खुलेको शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ ।
अघिल्लो दिन ४८ दशमलव ७१ अंकले उकालो लागेर नेप्से परिसुचक आज १३ दशमलव ४६ अंकले ओरालो लागेर २८ सय ३७ दशमलव ७७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३९ अंकले ओरालो लागेर चार सय ७८ दशमलव १३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ९७ हजार चार सय ८० पटकको कारोबारमा दुई करोड १० लाख ८७ हजार छ सय २८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार नौं सय ६७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।