काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले चैत २६ गते बिहीबारदेखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । कम्पनीका अनुसार हाल कायम चुक्ता पुँजीको १० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला गरिएको हो ।
कम्पनीले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गरिएको हो । यस अनुसार कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद सेयरमा २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सकिने छ ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट र सीडीएस एन्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् चुक्ता पुँजी दुई अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।