काठमाडौ । याङ्गोले काठमाडौंमा महिला पार्टनर चालक तथा कुरियरहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीले यस पहलमार्फत नेपालको बढ्दो मोबिलिटी क्षेत्रमा महिला सशक्तिकरण र आर्थिक समावेशीतालाई स्थान दिएको छ । महिला पार्टनर चालक तथा कुरियरहरूलाई आफ्नो व्यक्तिगत वित्त व्यवस्थापन गर्न आवश्यक व्यावहारिक ज्ञान र उपयोगी उपकरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा बजेट बनाउने, बचत गर्ने, वित्तीय योजना बनाउने तथा दीर्घकालीन आर्थिक आत्मनिर्भरजस्ता मुख्य विषयमा जानकारी प्रदान गरिएको थियो । राइड–हेलिङ क्षेत्रमा काम गर्ने महिला चालकहरूले प्रायः अनियमित आम्दानी र वित्तीय योजनासम्बन्धी स्रोतमा सीमित पहुँचजस्ता चुनौतीहरूको सामना गर्ने गरेका छन । यस कार्यक्रममार्फत याङ्गो नेपालले यस्ता चुनौतीहरू समाधान गर्न सहयोग गर्दै यस क्षेत्रमा कार्यरत महिलाहरूको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेको छ ।
याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले कम्पनीले सधैं आफ्ना पार्टनर चालकहरूको दैनिक जीवनमा सहयोग पुर्याउने उपायहरू खोजिरहेको बताए । ‘यो सत्र विशेष रूपमा हाम्रा महिला चालक तथा कुरियरहरूका लागि तयार गरिएको हो । वित्तीय साक्षरता कार्यक्रममार्फत उनीहरूलाई सुरक्षित आर्थिक भविष्य निर्माण गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’