काठमाडौं । सरकारले बाली तथा पशुधन बीमाको ‘प्रिमियम’मा अनुदानबापत एक अर्ब ६० करोड भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपन्छी बीमातर्फ एक अर्ब ४३ करोड तथा बाली बीमातर्फ १७ करोड भुक्तानी गरेको हो ।
पशुपन्छी तथा मत्स्यतर्फ एक लाख ६६ हजार सात सय ११ र बालीधनतर्फ एक हजार छ सय ३४ गरी एक लाख ६८ हजार तीन सय ४५ बीमालेख जारी गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । जारी गरिएका बीमालेखलाई नेपाल बीमा प्राधिकरणले प्रमाणीकरण गरेपछि किसानलाई भुक्तानी गरिन्छ । मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म बीमाबापतको करिब ९० लाख भुक्तानी गरेको छ । जारी गरिएका केही बीमालेख प्रमाणीकरणको चरणमा रहेका सूचना अधिकारी जोशीले बताए ।
बीमा कम्पनीले बीमा गरेको ३० दिनभित्र प्रदेशस्थित कृषि, मत्स्य तथा पशुपन्छी कार्यालयको सिफारिससहित बीमा प्राधिकरणमा अनुदानका लागि निवेदन दिनुपर्छ । कृषकलाई जोखिम कम गर्न र लगानी सुरक्षित गर्न सरकारले बाली तथा पशुधन बीमाको प्रिमियममा ५० लाखसम्मको बीमामा ८० प्रतिशत र सोभन्दा बढीको बीमामा ६५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको जोशीले बताए । कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानी सुरक्षा र आकर्षण बढाउन बीमा कार्यक्रममा बाली, माछा र पशुपन्छीलाई समावेश गरिएको छ ।