काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कोइच) बीच नेपालमा बाल स्वास्थ्य सेवाको सुधार, विस्तार तथा सुदृढीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । यस सहकार्यमार्फत नेपालमा बालबालिकाको उपचार सेवा, चिकित्सकीय प्रविधि, विशेषज्ञ ज्ञान तथा अन्तर्राष्ट्रिय सहयोगलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार गैरआवासीय नेपाली संघले विश्वभर छरिएर रहेका नेपाली डायस्पोरासँग काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई जोड्ने प्रमुख भूमिका निर्वाह गर्नेछ । यसअन्तर्गत चिकित्सकीय ज्ञान, सीप तथा नवीन प्रविधिको आदान–प्रदान गरिने छ । त्यसैगरी, बाल स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने उपकरण, सर्जिकल सामग्री तथा अन्य स्वास्थ्य सामग्रीको सहयोग उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उपचारमा समेत विशेष सहयोग गर्ने सहमति भएको छ ।
सम्झौताअनुसार दुवै संस्थाबीच आपसी सहकार्यमा अन्य विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम, क्षमता अभिवृद्धि तालिम तथा विशेषज्ञ आदान–प्रदान कार्यक्रमहरूसमेत सञ्चालन गरिने जनाइएको छ । यस सहकार्यले नेपालमा बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार तथा अत्याधुनिक उपचार प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । समझदारीपत्रमा कोइचका तर्फबाट अध्यक्ष प्रा.डा. भगवान कोइराला र संघका तर्फबाट अध्यक्ष डा. हेम राज शर्माले हस्ताक्षर गरेका छन् ।