काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको १० प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने भएको छ । कम्पनीको हाल रहेको सेयर स्वामित्व संरचनामा संस्थापक सेयरधनीहरूको अनुपात ८४ दशमलव ६७ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको हिस्सा १५ दशमलव ३३ प्रतिशत रहेको छ । प्रचलित व्यवस्थाअनुसार संस्थापकको हिस्सा कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयर सर्वसाधारणमा परिवर्तन गर्न सकिने प्रावधान रहेको छ ।
सोही प्रावधानअनुसार गत चैत १९ गते सम्पन्न विशेष साधारणसभाले कुल संस्थापक सेयरमध्ये १० प्रतिशत सेयर सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जानकारी दिएको छ । यस प्रक्रिया पूरा भएपछि कम्पनीको सेयर संरचना परिवर्तन भई संस्थापक समूहको हिस्सा ७६ दशमलव २० प्रतिशतमा झर्नेछ । यसैगरी सर्वसाधारण समूहको हिस्सा २३ दशमलव ८० प्रतिशत मा सिमित हुने छ । यसका लागि नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको पनि कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यदि कुनै संस्थापक सेयरधनी आफ्नो सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न इच्छुक नरहेको भए सूचना प्रकाशित मिति अर्थात चैत २७ गतेबाट सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित निवेदन दिन आग्रह गरेको छ । उक्त समयभित्र कुनै निवेदन नआएमा सम्बन्धित सबै सेयरधनीको सहमति रहेको मानी रूपान्तरण प्रक्रिया अगाडि बढाइने कम्पनीले जानकारी दिएको छ ।