काठमाडौं । साओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए–७ सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो ।
कम्पनीका अनुसार रेड्मी ए७ मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार १७१.७९ मिमी ७७.८ मिमी८.२६ मिमी रहेको छ । यसमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्लेसँगै ४५० निट्सको ब्राइटनेस रहेको छ । साथै यसले ‘डिसी डिमिङ’ प्रविधि सपोर्ट गर्ने कम्पनीको भनाई छ । यसले १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै ‘स्मुथ’ तरिकाले चल्नेछ । ३/६४जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको यो फोनमा ¥यामलाई ३जीबीबाट ६जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
दैनिक रूपमा लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको रेड्मी ए ७ मा ५२०० एमएएच क्षमताको ब्याट्री छ, जसले लामो समयसम्म टिक्ने क्षमता प्रदान गर्दछ । यसमा १५ वाटको इन्ट्री–लेभल फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ, जसले फोन छिटो चार्ज गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसका साथै प्रयोगकर्ताको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । त्यसैगरी, यसमा रहेको १३एमपी मुख्य क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा भएकाले फराकिलो लेन्स एपेर्चर र कम उज्यालो भएको ठाउँमा पनि उत्कृष्ट तस्विर खिच्न सकिने छ । यसको क्यामेरा मधुरो प्रकाशमा पनि उत्कृष्ट पोट्रेट र स्ट्यान्डबिना नै विभिन्न सटहरू खिच्नका लागि उपयुक्त मानिएको छ । यसमा ३.५ मिमीको हेडफोन ज्याक पनि उपलब्ध छ । रेड्मी ए ७ को स्लिक र परिष्कृत डिजाइनले यसलाई थप स्तरीय र प्रिमियम लुक दिएको छ । यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल (हल्का चम्किलो वा वैजनी) रङहरूमा उपलब्ध छ ।
कम्पनीले रेड्मी ए ७ मा दुई वर्षको वारेन्टीसमेत प्रदान गरेको छ । बजारमा यो नयाँ स्मार्टफोनको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।