काठमाडौं । यामाहा नेपालले यामाहा ब्लू फेस्टमा एफजेड एफआई न्यू जेन सार्वजनिक गरेको छ । कम्पनीले आइताबारदेखि सुरु भएको यामाहा ब्लु फेस्टमा सो मोटरसाइकल सार्वजानिक गरेको हो ।
यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत यामाहा ब्लु फेस्ट आयोजना गरेको छ । यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ । कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्नेगरी डिजाइन गरिएको हो । ब्लु फेस्टको औपचारिक सुरूवातको रूपमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थीमअन्तर्गत यामाहा एफजेड एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रह्यो । अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड सिरिजको नयाँ अध्यायको सुरुवात गरेका थिए । कार्यक्रममा अध्यक्ष अग्रवालले ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्नमा कम्पनी केन्द्रित रहेको बताए । उनले भने, ‘यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन् । यसमध्ये एफजेड सिरिज नेपाली राइडरहरूको सबैभन्दा विश्वासिलो रोजाइ बन्दै आएको छ ।’
यस सिरिज लामो समयदेखि कम्युटर सेग्मेन्टमा लोकप्रिय रहँदै आएको कम्पनीको भनाइ छ । न्यु जेनले थप सुधारिएका फिचर र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिएको छ । कम्पनीका अनुसार नयाँ यामाहा एफजेड एफआई न्यू जेन हरेक दिनको प्रयोगमा आत्मविश्वास, स्टाइल र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बाइकका ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाइ–कनेक्टजस्ता विशेषताहरूबारेमा जानकारी दिएका थिए । उनका अनुसार एफजेड एफआई न्यू जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने राइडरका लागि तयार गरिएको हो । यस मोडलमार्फत अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको उनले बताए ।
कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारीले ब्लु फेस्टअन्तर्गत उपलब्ध अफर, मूल्य संरचना र नयाँ मोडलका प्रमुख विशेषताबारे विस्तृत जानकारी दिँदै यामाहाको ग्राहक केन्द्रित दृष्टिकोण र मूल्यमा आधारित बजार रणनीतिबारे उल्लेख गरे । ब्लु फेस्टको प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिताले बजारअनुसारको उचित मूल्यांकन सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी एक्सचेन्ज सुविधा प्रदान गरेको थियो । साथै, ग्राहकहरूले नागरकितामार्फत तुरुन्तै फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको लचिलो ईएमआई विकल्प तथा ब्लु फेस्ट योजनाअन्तर्गत अधिकतम पाँच लाख रुपैयाँसम्मको क्यासब्याक सुविधा पनि प्राप्त गरेका थिए ।