काठमाडौं । कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ को विजेता कर्बिर तामाङ भएका छन् । गोर्खा ब्रुअरी प्रालिद्वारा आयोजित काल्र्सबर्ग गल्फ क्लासिक अप्रिल १० र ११ मा रोयल नेपाल गल्फ कोर्समा भएको हो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए । प्रतियोगिता स्टेबलफोर्ड फम्र्याट मा ३/४ ह्यान्डिक्यापका आधारमा खेलाइएको थियो । प्रतियोगिताको पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बनेका हुन् । अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनर–अप भए । बेस्ट ग्रस विनरको उपाधि हरि बहादुर थापाले जिते । महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनर–अप रहिन् । सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर–अप बने । सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणि लाल थापा विजेता बने ।
महिलातर्फ सिनियर (६० वर्षमाथि) मा देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा सन्ध्या राई विजेता घोषित भए । विशेष विधातर्फ हरि बहादुर थापाले होल नम्बर १२ मा होल इन वान गर्दै प्रतियोगिताको विशेष आकर्षण बने । प्रतियोगितामा मष्ट बर्डीज अवार्ड कर्बिर तामाङले ४ बर्डीसहित जिते । त्यस्तै, लङ्थेस्ट ड्राइभमा सरोज थापा, क्लोजेस्ट टु द पिनमा खिम गौचन, तथा स्पोर्टस्म्यानसीप प्राइज ब्रिगेडियर जनरल शशि किरण रायमाझीले प्राप्त गरे ।