काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाको लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले वैशाख महिनाको लागि व्यक्तिगत निक्षेतर्फ औसमा चार दशमलव चार प्रतिशत ब्याजदर तोकेका छन् । यो ब्याजदर अघिल्लो महिना अर्थात् चैत महिनाको लागि तोकिएको ब्याजभन्दा शून्य दशमलव शून्य ९४ प्रतिशतले कम हो । चैत महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर चार दशमलव ९४ प्रतिशत रहेको थियो ।
ब्याजदर सार्वजनिक गरेका मध्ये १२ वटा वाणिज्य बैंकहरूले वैशाख महिनाको लागि पनि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकीले घटाएका छन् । सोमध्ये सिद्धार्थ, एभरेष्ट र कुमारी बैंकले वैशाख महिनाको लागि क्रमशः चार, चार दशमलव शून्य पाँच र चार दशमलव शून्य पाँच प्रतिशत ब्याजदर तोकेका छन् । चैत महिनाको लागि भने यी बैंकहरूले क्रमशः चार दशमलव २५, चार दशमलव २५ र चार दशमलव १२ प्रतिशत ब्याजदर तोकेका थिए । स्टान्डर्ड, सिटिजन्स, प्राइम र कृषि विकास बैंकले पनि वैशाख महिनाको लागि क्रमशः चार दशमलव एक, चार दशमलव १५, चार दशमलव १५ र चार दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् । चैत महिनाको लागि यी बैंकहरूको यस्तो ब्याजदर चार दशमलव ११, चार दशमलव पाँच, चार दशमलव १५ र चार दशमलव १५ प्रतिशत रहेको थियो ।
वैशाख महिनाको लागि नेपाल एसबीआई र हिमालयन बैंकले पनि क्रमशः चार दशमलव २५ र चार दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । चैत महिनामा यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः चार दशमलव २५ र पाँच प्रतिशत रहेको थियो । नेपाल बैंक, ग्लोवल आईएमई, माछापुच्छ्रे, लक्ष्मीसनराइज, सानिमा र नेपाल इन्भेष्टमेन्ट बैंकले भने वैशाख महिनाको लागि साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसअनुसार यी बैंकहरूले वैशाख महिनाको लागि क्रमशः चार दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । प्रभु र नबिल बैंकले पनि वैशाख महिनाको लागि चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै चार दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि वैशाख महिनाको लागि चार दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाको लागि यी दुवै बैंकको ब्याजदर पाँच प्रतिशत रहेको थियो । एनमबी बैंकले पनि वैशाख महिनाको लागि चैत महिनाकै ब्याजलाई निरन्तरता दिएर पाँच प्रतिशत तोकेको छ ।