काठमाडौं । इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी), नेपाल र जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्स (जीआईआईए) बीच टोकियोमा उच्चस्तरीय रणनीतिक परामर्श बैठक सम्पन्न भएको छ ।
बैठक जीआईआईएका अध्यक्ष केनिचिरो सासाएको आतिथ्यमा बैठक आयोजना गरिएको हो । जीआईआईएलाई अन्तर्राष्ट्रिय नीति अनुसन्धान र बौद्धिक संवादको अग्रणी संस्थाका रूपमा स्थापित गर्न सासाएको नेतृत्व महत्वपूर्ण मानिन्छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व आईआरजीडीडीकी अध्यक्ष तथा पूर्व राजदूत डा. शर्मिला प्रमिला ढकालले गरेकी थिईन् । बैठकमा डा. ढकालले जटिल बन्दै गएको विश्व परिवेशमा बौद्धिक कूटनीतिको महत्व र थिंक ट्यांकहरूको बढ्दो भूमिकाका बारेमा जोड दिइन् । उनले लोकतान्त्रिक सुदृढीकरण, सुशासन र युवा–केन्द्रित विकासमार्फत नेपालको अग्रगामी दृष्टिकोण प्रस्तुत गर्दै नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्धता जनाइन् ।
पूर्वाधार, शिक्षा र क्षमता विकासका क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता पहलले द्विपक्षीय विश्वास र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाएको बताइन् । छलफलमा नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्यसहित थिंक ट्यांकहरूबीच सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित बहस भएको थियो । दुवै पक्षले आर्थिक कूटनीति, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन तथा नीति अनुसन्धानका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदान–प्रदान गरेका थिए । सासाएले आईआरजीडीडीको पहलको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न निरन्तर संवाद र ज्ञान आदान–प्रदान अपरिहार्य रहेको बताए । बैठकले दुवै संस्थाबीच निरन्तर सम्पर्क, बौद्धिक आदान–प्रदान तथा सहकार्यलाई अगाडि बढाउने साझा समझदारीसहित निष्कर्ष निकालेको छ । परामर्शले संवाद र सहकार्यमार्फत नेपालको वैश्विक कूटनीतिक उपस्थिति विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।