काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्म लघुवित्त वित्तीय संस्था र पूर्वाधार बैंकबाहेकको सिंगो बैंकिङ क्षेत्रले ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ खर्ब चार अर्ब ४० करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । यसमा औसतमा पाँच दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रले कुल ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो । जसमा औसत चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । राष्ट्र बैंकका अनुसार यो अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ७० खर्ब १६ अर्ब २३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा औसतमा पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । यसबाहेक १७ वटा विकास बैंकहरूले पनि चालू आवको फागुन मसान्तसम्म कुल छ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३८ अर्ब ६७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ६४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरूले छ खर्ब दुई अर्ब पाँच करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको फागुन मसान्तसम्ममा एक खर्ब ३७ अर्ब १५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ११ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।