बागमती । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै आएको हेटौँडा उद्योग नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।
सांसद प्रकाश गौतमले सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा प्राथमिकता दिएका छन् । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताए ।
हेटौँडा सिमेन्ट उद्योगलाई पुनः कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको सांसद गौतमले जानकारी गराए । सांसद गौतमले भने, “यसै विषयमा केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उहाँहरूले पनि सकारात्मक आश्वासन दिनुभएको छ ।”
“उद्योगमा हुँदै आएको राजनीतिक हस्तक्षेप, आन्तरिक रूपमा हुने भ्रष्टाचार रोक्न सकियो र नयाँ व्यवस्थापन टिम बनाउन सकियो भने उद्योग चलाउन सकिने सम्भावना देखिन्छ ।” त्यसैका लागि म प्रयास गरिरहेको छु, छिट्टै सकारात्मक परिणाम आउन सक्नेमा विश्वास्त छु, उनको कथन छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिनमात्र उद्योग सञ्चालन हुँदा सो अवधिमा दुई हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा. शिवनारायण साहले बताए ।
उद्योगले गत चैत १३ गतेदेखि पुनः क्लिङ्कर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुनः रोकिएको छ । अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एकदुई दिनमा पुनः उद्योग बन्द हुने निमित्त प्रमुख डा. साहको भनाइ छ ।
“उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० टन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ”, उनले भने, “तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी पनि गर्न सकिएको छैन उनले भने ।
आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थपिएको छ । “विद्युत् उपभोग त गरियो तर महसुल बुझाउन सकिएन”, उनले भने, “अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न नसकिए पनि करिब ३०/४० करोड जति बक्यौता बाँकी छ होला ।” त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको कथन छ ।
हेटौँडाको लामसुरेमा विसं २०३३ सालमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।