काठमाडौं । कामना सेवा विकास बैंकले ‘वित्तीय साक्षरता कथा संग्रह’ सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर बैकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको हो ।
उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक कार्यक्रमबीच अनावरण अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना दिने विषय नभई व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको उल्लेख गर्दै कथा र भिडियो सामग्रीले यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पु¥याउने विश्वास व्यक्त गरेको छ । बैंकका अनुसार कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवाको प्रयोग तथा दीर्घकालीन आर्थिक योजना जस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक शैलीमा प्रस्तुत गरिएको छ ।
यो कथा संग्रह देशभरका विभिन्न विद्यालयहरूमा वितरण गरिने छ, जसले विद्यार्थीहरूमा सानै उमेरदेखि वित्तीय अनुशासन, बचत गर्ने बानी तथा जिम्मेवार खर्च गर्ने संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, बैंकले नयाँ खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप खुत्रुकेसहित उक्त कथा संग्रह प्रदान गर्ने व्यवस्था पनि मिलाएको जनाएको छ । बैंकका अनुसार यो अभियानअन्तर्गत कथा संग्रहलाई भिडियोको माध्यमबाट डिजिटल रूपान्तरण समेत गरिएको छ । भिडियो सामग्रीमा कथाका पात्रहरूलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै वित्तीय सन्देशलाई अझ प्रभावकारी र आकर्षक बनाइएको बैंकले जनाएको छ । यी भिडियोहरू विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरिएका छन् ।
बैंकका अनुसार सम्बन्धित भिडियो सामग्रीहरू प्रत्येक हप्तामा दुई दिन बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छ । वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
यस अभियानमार्फत समुदायस्तरमै वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यास प्रवद्र्धन गर्ने लक्ष्य राखिएको बैंकले जानकारी दिएको छ ।