काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा उक्त रकम लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा विशेष लगानी कोष (एसआईएफ)को रूपमा दर्ता छ र एनआईएमबी एस क्यापिटलले यसको व्यवस्थापन गर्छ ।
गुर्खाज हिमालयन हाइड्रो कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हो । आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुख्खायाममा हुनेछ । आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।
उत्पादित विद्युत्लाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेसनमा जोडिने छ । आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य राखिएको कम्पनीको भनाइ छ ।