काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा गरिएको छ । बुधबार सैनिक मञ्च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउँदै आगामी वर्षको लागी ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा गरिएको हो ।
सरकारको सय बुँदे कार्ययोजनामा नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राखेको छ । त्यसैको आधारमा सन् २०२७ लाई आरोग्य वर्ष घोषणा गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले बताए । मन्त्री पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा उल्लेख गर्दै नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताए । उनले भने, ‘आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नैभित्र फर्किने साहस हो । यो आत्माको मौनता बुझ्ने कला हो ।’ विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै उनले विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्वमा आरोग्य अति आवश्यक भएको बताए । ‘मानिससँग सबै कुरा छ, तर दुई पलको शान्ति छैन । अब विश्वले खोजेको शान्ति नेपालले दिन सक्छ,’ उनले भने । सरकारले आरोग्य पर्यटनलाई दिगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेको उनले बताए । मन्त्री पौडेलले नेपाललाई केवल घुम्ने गन्तव्य नभई ‘आफूलाई चिन्ने र आत्मिक शान्ति खोज्ने केन्द्र’ का रूपमा विश्वमा स्थापित गर्ने सन्देश दिएको उल्लेख गरे ।
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘आरोग्य केवल रोग नहुनुमात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो ।’ सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने बताए । नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ । अब संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ ।’
कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको औंल्याए । उनले भने, ‘नेतृत्व लिनुअघि स्वामित्व लिनुपर्छ । आरोग्यका तीन चरण छन्, र नेपालमा ५० लाखभन्दा बढी मानिस स्वजाग्र ध्यानमा संलग्न छन् ।’ उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको आवश्यकता औंल्याए ।
कार्यक्रमको सुरुवातमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा मन्त्रउच्चारण गरिएको थियो भने ध्यान र योग सत्र पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा ध्यान तथा योग, आरोग्य पर्यटन रणनीति र लोगोसमेत सार्वजनिक गरिएको थियो । नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का रूपमा औपचारिक मान्यता दिएको थियो । उक्त मान्यतापछि विश्वभर पहिलो पटक यो दिवस मनाइएको हो ।