काठमाडौं । एनआईसी एसिया बैंकले बर्दगोरिया गाउँपालिकास्थित सहारा घरलाई डाइनिङ टेबल, बेन्च र पानी डिस्पेन्सर सहयोग गरेको छ । सहारा घरले ९७ जना आश्रित व्यक्तिलाई सहयोग पुर्याउँदै आएकोमा बैंकको सहयोगले थप टेवा पुग्ने विश्वास गरिएको छ । बैंकले शिक्षा र सामाजिक सेवामा सक्रिय रहँदै पुस्तकालय भवन र छात्रवृत्ति जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिकास्थित ‘असहायका लागि सहयोगी हातहरु नेपाल’ (सहारा घर)लाई विभिन्न जिन्सी सामग्री सहयोग गरेको हो । यी सामग्रीहरू यसै साता आयोजित एक कार्यक्रमका बीच बैंकका धनगढी सर्कल हेड दिपक विष्टले सहारा घरका अध्यक्ष बलबहादुर विष्टलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । सहारा घरले असहाय र परनिर्भर व्यक्तिहरूलाई गाँस र बासको सुविधा दिँदै आएकोमा बैंकको यस सहयोगले उनीहरूको जीवनयापनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
बैंकले शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ । यसअघि बैंकले शान्ति सेवा गृहका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । यसैगरी विगतका वर्षहरूमा पनि बैंकले विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण र छात्रवृत्ति कार्यक्रमहरू सञ्चालन गर्दै आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ ।