काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर ‘सिटिजन्स डिजिटल मन्थ’ उत्सव १९औँ वार्षिकोत्सव समारोह अभियान २०८३’ सार्वजनिक गरेको छ । उक्त अभियान वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ । एक महिनासम्म चल्ने यस उत्सवमा बैंकले आफ्ना ग्राहकलाई विभिन्न डिजिटल सेवामा आकर्षक छुट तथा क्यासब्याक सुविधा प्रदान गर्ने भएको छ। डिजिटल कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको यस अभियानअन्तर्गत ग्राहकहरूले विभिन्न सेवामा लाभ लिन सक्नेछन् ।
बैंकका अनुसार निष्क्रिय डेबिट कार्डलाई पीओएस तथा ई–कमर्स कारोबारमार्फत सक्रिय गराउने ग्राहकलाई कारोबार रकमको १९ प्रतिशत वा अधिकतम एक सय ९० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । त्यसैगरी मोबाइल बैंकिङ वा ‘डिजी बैंक’मार्फत ई–कम कार्ड अनुरोध गर्दा इन्स्योरेन्स शुल्कमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । निष्क्रिय व्यवसायिक क्यूआर सक्रिय गराउने ग्राहकले पनि १९ प्रतिशत वा अधिकतम एक सय ९० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् भने होटल तथा रेस्टुरेन्टमा पीओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा विशेष छुट दिइने छ ।
यसैगरी, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गर्ने ग्राहकलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट, पारिवारिक सदस्यको नयाँ खाता रिफर गर्दा प्रति खाता एक सय रुपैयाँ क्यासब्याक तथा मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी लिँदा दुई सय रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्न फोनपेसँगको सहकार्यमा सञ्चालन गरिएको ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’को पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट दिने अफर समेत घोषणा गरिएको छ । बैंकले यसअघि ‘बैंक अफ द इयर २०२४ र २०२५’ उपाधि प्राप्त गरिसकेको छ। साथै, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ जस्ता नवीन सेवासहित फ्रिलान्सर लक्षित बचत खाता समेत सञ्चालनमा ल्याइसकेको छ । मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा, क्रस–बैंक टेलर सुविधा जस्ता सेवाहरू पनि उपलब्ध छन् ।
बैंकले हाल देशभर ६१ जिल्लामा रहेका दुई सय वटा शाखा, एक सय ६९ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।